काठमाडौँ -विभिन्न व्यक्तिका विवरणहरू हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टम दुरुपयोग गरी विवरण हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विभागमै विवरण दर्ता अपरेटरको रूपमा कार्यरत सुनसरीको छिटाहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा–३ बस्ने २८ वर्षीय सुनित प्रभाग रेग्मी र गोरखा घर भई हाल ललितपुर महानगरपालिका-१३ बस्ने २८ वर्षीय आशिष बाबु कुमाल रहेका छन् । प्रहरीले उनीहरूलाई शनिबार ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
गलत मनसाय राखी उनीहरूले विवरण हेरफेर गर्दै ‘एप्रुभ’ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
उनीहरूमाथि ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’ को कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।









