काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुद नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल कायम भएको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।
मंसिरको तुलनामा पुसमा १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा घटेको हो ।
ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् ।
त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् ।









