images
images

ओली समूहले पनि टुङ्गो लगायो उम्मेदवार, महासचिवमा पोखरेल दोहोरिँदा अन्य पदमा को-को दोहोरिँदै छन्?

काठमाडौँ– नेकपा एमालेको जारी ११औँ महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले पनि उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

अध्यक्षमा ओली नै तेस्रोपटक उम्मेदवार बन्दा महासचिवमा शंकर पोखरेल दोहोरिएका छन्। उनी यसअघि १०औँ महाधिवेशनमा महासचिव बनेका थिए।

ओली समूहबाट उपाध्यक्षको उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको नाम टुङ्गो लागेको छ।

यद्यपि यसअघि ज्ञावली र गुरुले महासचिवमा दाबी गर्दै आएका थिए। उनीहरू यसअघि उपमहासचिव थिए। पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष नै थिए।

यस्तै उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकालको नाम टुङ्गो लागेको छ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा.राजन भट्टराईको नाम टुङ्गो लागेको छ।

भट्ट, विश्वकर्मा र अर्याल यसअघि पनि सचिव रहेका थिए। सामान्यता ओली समूहबाट पदाधिकारीका लागि नाम टुङ्गो लागे पनि अन्तिममा केही नाममा तलमाथि हुन सक्ने नेताहरूले बताएका छन्।

ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले पनि पदाधिकारीको नाम  टुङ्गो लगाएको छ।