images
images

भारत-नेपाल टुरिज्म मार्ट अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु

काठमाडौँ – दोस्रो भारत-नेपाल टुरिज्म मार्टअन्तर्गत आजदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीसमेतको सहभागितामा गन्तव्य प्रवर्द्धन सुरु गरिएको हो ।

भारतीय टोलीलाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा स्वागत गर्दै स्थलमार्गबाट चितवनको सौराहा ल्याएको छ ।

भारतीय टोलीलाई होटेल संघ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिए ।

अन्तरक्रियामा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुंगाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृतलगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावनालगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उक्त अवसरमा सौराहाको प्रवर्द्धनात्मक भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

महासचिव सापकोटाका अनुसार भारतीय प्रवर्द्धनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बागलुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मार्टमा सहभागी बन्ने छ ।

टोली ४ गते पोखराबाट पाल्पा हुँदै सुनौली नाकाबाट भारत फर्कने उनले जानकारी दिए ।