काठमाडौँ- नेकपा (एमाले)को महाधिवेशनअन्तर्गत विभिन्न पद, आयोग तथा कोटाबाट दर्जनौँ नेता निर्विरोध चयन भएका छन् ।
मुस्लिम महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी निर्विरोध चयन भएकी छन् भने प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे निर्विरोध चयन भएका छन् ।
अनुशासन आयोगमा अध्यक्ष प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिव राजेश घिमिरे निर्विरोध चयन भएका छन् ।
यस्तै, पिछडिएको क्षेत्र महिला कोटाबाट बदमी कुमारी बुढा निर्विरोध चयन भएकी छन् । लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध चयन भएका छन् ।
केन्द्रीय सदस्य ४० वर्ष मुनिका युवातर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध चयन भएका छन् ।
महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ प्रणालीअनुसार तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि केन्द्रीय कमिटीमा ५ प्रतिशत अर्थात् १५ जनाको कोटा निर्धारण गरिएको छ ।
केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहने व्यवस्था छ, जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । प्रदेश प्रतिनिधित्वतर्फ उपत्यकासहित सबै ८ प्रदेशबाट ९–९ जना अर्थात् ७२ जना रहने व्यवस्था गरिएको छ ।
यसैगरी, सबै प्रदेशबाट खुला ५, महिला ३ र युवा १ जना केन्द्रीय सदस्य रहनेछन् । खुला कोटाका १ सय २५ केन्द्रीय सदस्यमध्ये खुला ७१, महिला ५२ र युवा २ जना रहनेछन् । जनजाति/आदिवासी कोटामा २५ मध्ये खुला १५, महिला ८ र युवा २ जना चयन हुनेछन् ।
मधेशी कोटामा १९ मध्ये खुला ११, महिला ६ र युवा २ जना रहनेछन् । प्रवासतर्फ २ मध्ये भारतबाट १ र अन्य देशबाट १ जना चयन हुनेछन् । श्रमिक कोटामा ३ मध्ये खुला २ र महिला १ जना रहने व्यवस्था छ । अपांगता भएका व्यक्तिका लागि १ जना तथा दलित कोटामा १२ मध्ये खुला ७, महिला ४ र युवा १ जना केन्द्रीय सदस्य रहनेछन् ।
त्यसैगरी, थारू ‘क्लस्टर’बाट ८ मध्ये खुला ५ र महिला ३ जना तथा मुस्लिम समुदायबाट ५ मध्ये खुला ४ र महिला १ जना रहनेछन् । पिछडिएको क्षेत्रबाट २ मध्ये खुला १ र महिला १ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
३ सय १ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी रहने व्यवस्था अनुसार अब एमालेमा १९ केन्द्रीय पदाधिकारी, ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन हुनेछ ।








