काठमाडौँ – विसं २०८३ को पञ्चाङ्ग २०८२ सालअनुरूप नै तयार गर्ने निर्णय गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसेर उक्त निर्णय गरेको जनाएको छ ।
समितिका अनुसार विभिन्न कारणले पञ्चाङ्गको रूजु तथा छलफल कार्यमा ढिलाइ भएको, केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न समय लाग्ने तथा थप प्राविधिक छलफल आवश्यक देखिएकाले पञ्चाङ्ग प्रकाशन ढिलाइ हुन पुगेको हो । यसबाट सेवाग्राहीलाई समस्या पर्न सक्ने देखिएकाले २०८२ सालअनुरूपकै पद्धति अपनाएर २०८३ को पञ्चाङ्ग तयार गर्ने निर्णय गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
यसअघि विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्न सूचना जारी गरिएको थियो । तर समितिको निर्णयअनुसार नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रहने निर्णय भइसकेको समितिले जनाएको छ । अन्य ग्रहहरूको गणना भने ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितको आधारमा गरी पञ्चाङ्ग प्रकाशित हुँदै आएको छ ।
यसैबीच, सौरोक्त पद्धतिबाट गरिने गणनालाई समयसापेक्ष आकाशीय ग्रहस्थितिसँग अझ मेल खाने गरी सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वानहरूलाई आमन्त्रण गरी छलफल प्रक्रिया तत्काल अघि बढाउने निर्णयसमेत गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।







