काठमाडौँ- तीन सयभन्दा बढी सदस्य भएको केन्द्रीय कार्यसमितिका लागि भइरहेको एमाले निर्वाचनमा १२ घन्टा बित्दा करिब १३ सय मत खसेको छ।
एमाले केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीहरूका अनुसार बुधबार राति १० बजेसम्म १३ सय मत खसेको हो। बुधबार बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरु भएको थियो।
बिहीबार बिहानसम्म मतदान सम्पन्न हुने निर्वाचन आयोगका पदाधिकारीहरूले जानकारी दिएका छन्।
मतदानस्थलमा बुधबार अबेर राति मतदान गरेकी एमाले नेतृ कोमल ओलीले आफूलाई मतदान गर्न ४७ मिनेट लागेको जानकारी दिइन्। उनी केन्द्रीय सदस्यमा उम्मेदवार पनि छिन्।
एमालेका २ हजार २ सय ६३ प्रतिनिधिले ३ सय १ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि मतदान गरिरहेका हुन्।
८० वटा विद्युतीय मेसिनबाट मतदान भइरहेको हो।
एमालेको ११ औँ महाधिवेशनको समापन कार्यक्रम बिहीबार बिहान ११ बजेका लागि राखिएको जानकारी आयोजकहरूले दिएका छन्।








