काठमाडौँ — नेकपा एमालेको ११ औँ केन्द्रीय महाअधिवेशन सम्पन्न भएको छ ।
महाअधिवेशनबाट गोरखाका रामशरण बस्नेत र आरसी लामिछाने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
रामशरण बस्नेत भूगोलतर्फको खुला केन्द्रीय सदस्यमा १४१९ मत ल्याएर विजयी भएका हुन् । गोरखा नगरपालिका–३ नारेश्वरका बस्नेत नवौँ महाअधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य चयन भएका थिए भने दशौँ महाअधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । उनी यसअघिको गण्डकी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् ।
त्यस्तै, आरुघाट गाउँपालिका–१० मंगलटारका आरसी लामिछाने सम्पर्क समन्वयतर्फको खुला केन्द्रीय सदस्यमा १८४९ मत ल्याएर निर्वाचित भएका छन् । बस्नेत र लामिछाने दुवै जना अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका थिए ।
केन्द्रीय सदस्यका अन्य उम्मेदवार गोरखाका प्रेम गुरुङ, अब्दुस मियाँ र बाबुराम अधिकारी भने पराजित भएका छन् ।
हालै सम्पन्न महाअधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई पुनः चयन गरेको छ । यस्तै, केन्द्रीय महासचिवमा शंकर पोखरेल चयन भएका छन् । उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट चयन भएका छन् ।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई चयन हुँदा सचिवमा महेश बस्नेत, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, शेरधन राई, खगराज लामिछाने, हिक्मत कार्की, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल चयन भएका छन् ।
महाअधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठन सुदृढीकरणमा जोड दिएको नेताहरूले बताएका छन् ।








