काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्न नदिएको भन्दै रोष प्रकट गरेका छन्।
शनिबार भृकुटीमण्डको सडकमा आयोजनाका भएको एकता सभालाई सम्बोधन गर्दै उनले खुलामञ्चमा कार्यक्रम गर्नका लागि विभिन्न निकायसँग समन्वय गरिएको भए पनि आफूहरू त्यसमा सफल नभएको बताए।
प्रचण्ड खुलामञ्च खुला गर्न आग्रहसमेत गरे। ‘यहाँ सडकमा सहभागीहरू अटाउन नसकेर बाहिर पनि रहेको देखेको छु’, उनले सम्बोधनको सुरुमै भने, ‘सबभन्दा पहिला त नेपाल सरकारलाई, महानगरलाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्न चाहन्छु।’
उनले एक लाख मान्छेहरू जम्मा भएर कार्यक्रम गर्न नसकिने अवस्था हुनु देशकै लागि लज्जाको विषय भएकोसमेत बताए। ‘एक लाख, पाचस/साठी हजार मान्छे जम्मा भएर बस्ने एउटा पनि चौर नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ’, उनले भने।
उनले राजनीतिक दल, विभिन्न संघसंस्थाका लागि एउटा खुलामञ्ज, एउटा समारोह गर्ने स्थल अनिवार्य रहेको र त्यसतर्फ ध्यान दिन नेपाल सरकार र काठमाडौँ महानगरलाई ध्यानाकर्षण गराएका थिए।








