काठमाडौं -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउँदो फागुन २१ गते निर्वाचन नभए संसद् पुनर्स्थापना गरिनुपर्ने बताएका छन् । शनिबार (पुस ५) काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल ‘ट्रयाक’बाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम हुने उनले उल्लेख गरे । तर, निर्वाचन हुन नसकेमा संसद् पुनर्स्थापनाको विकल्पलाई खुला नै राखिनुपर्नेमा उनले जोड दिए ।
उनले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेकों टिप्पणी गरे । पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।
महाविधेशनको कार्यतालिका सर्वसम्मत रूपमा ल्याइएको उनले बताए । १५औँ महाधिवेशन हुनेमा शंका नगर्न उनले आग्रह गरे । तर, महाधिवेशन विधिअनुसार हुनुपर्नेमा उनले जोड दिए । पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने उनले बताए ।
पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्याइएपछि महाधिवेशन हुने उनले उल्लेख गरे ।
कार्यक्रममा प्रकाशमान सिंहको भनाइ पढ्नोस्–
चुनाव २१ गतेको छ । यहाँ सुरक्षा व्यवस्थाको अवस्था हेर्यो, जस्तै आजभोलि नै के होला भन्ने खालको असुरक्षाको महसुस भइरहेको छ । सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु भनेको छ, त्यो बोलेर मात्रै होइन, गरेर देखाउनुपर्यो । ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो । तर, कथंकदाचित् विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ । अब हामी निर्वाचनको लागि तयार हुनुपर्छ । सँगै, पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका पनि धेरै लामो छलफलपछि सर्वसम्मत रूपमा आएको छ । कार्यतालिका आएको छ, अहिले सबैले प्रश्न गर्छ– महाधिवेशन हुन्छ कि हुँदैन ? उदाहरणका लागि, महाधिवेशन किन नहुने ? सर्वसम्मत रूपमा कार्यतालिका पारित भएको छ । यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ । कसैलाई हतार भयो भन्दैमा विधि, प्रक्रिया नै नपुर्याई विधि मिचेर महाधिवेशनलाई अगाडि बढाउने भन्नेचाहिँ हुँदैन । महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचनजस्तै पार्टीभित्रको निर्वाचन हो । आमनिर्वाचनको लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नि, मतदाता नामावलीको अपडेट पूरा भएपछि न निर्वाचनको प्रक्रिया सुरु हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन हुनको लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई कांग्रेसको विधानानुसार हुनुपर्छ । न्युज एजेन्सी नेपाल








