काठमाडौँ -जेनजी रिभोलुसन नेपालका सह संयोजक अर्जुन शाहीले देशको संस्थागत असफलता र जनविश्वास खस्कँदै गएको अवस्थाप्रति कडा असन्तोष व्यक्त गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा उनले विद्यमान शासन प्रणालीप्रति प्रश्न उठाउँदै सो कुरा बताएका हुन् । उनले भने ‘सभ्य र सुसंस्कृत शासनको अभ्यास आफूहरूले देखिसकेको र अब परिवर्तन अपरिहार्य छ’ ।
तीन दशकदेखि संविधानको आवरणभित्र अन्याय र असमानता मौलाउँदै आएको दाबी गर्दै शाहीले जनताको धैर्य अन्त्यतिर पुगेको उल्लेख गरे। जनतालाई कहिलेसम्म भ्रममा राखिन्छ ? सुधारको नाटक अब बन्द हुनुपर्छ भन्दै उनले देशले नयाँ दिशातर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
पत्रकार सम्मेलनमा शाहीले युवाहरूलाई एकताबद्ध भएर देश निर्माणको अभियानमा उत्रन आह्वान गरे। उनका अनुसार अब राज्यले ‘कसरी’ होइन ‘किन’ भन्ने प्रश्नको उत्तर दिनुपर्ने अवस्था आएको छ।
उनले जनताको पक्षमा संघर्ष जारी रहने स्पष्ट पार्दै भने, “यो सत्ता प्राप्तिको लडाइँ होइन, अस्तित्वको संघर्ष हो। आवश्यक परे हामी भस्मासुर बनेर अन्यायलाई जलाउनेछौँ र आवश्यकता परे राम बनेर देश र जनताको रक्षा गर्नेछौँ।”
शाहीले आफूहरू कसैका शत्रु नभई जनताको विरोधी बनेको प्रणालीकै विरोधमा उभिएको बताए। उक्त प्रणाली सुधार नगरी चुनाव वा विकासका कुरा अर्थहीन हुने उनको भनाइ थियो।








