images
images

एमाले निर्वाचनमा जान तयार भयो, नेताहरूको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन्।

नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन्।

सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनीतिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसारलगायतका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

स्वतन्त्र, भयरहित र धाँधलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाइ छ। उनले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताए।

उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गरे। उनले एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताए।

भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउनेलगायतका विषयका काम गर्ने उनले जानकारी दिए।

उनले भने, ‘विभिन्न नेताहरुको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो। सुशासन अर्को महत्वपूर्ण प्राथमिकता हो। भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराहरुको सन्दर्भमा यी महत्वपूर्ण कुराहरुलाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरुमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फबाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ।’

कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातवरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए।