images
images

निर्वाचन सफल बनाउन सरकार र मुख्य राजनीतिक दलबीच समझदारी !

काठमाडौँ – फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री र दलका नेताहरुलाई भने, ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो।’

कांग्रेस एमालेका सांसद संसद् पुनःस्थापनाको माग राख्दै सर्वोच्च पुगेका बेला मुख्य नेताहरुले भने फागुन २१ गतेको चुनावमा सहभागिता जाउने प्रतिबद्धता जनाएका हुन्। पुनःस्थापनाको पक्षमा आवाज उठाउँदै आएका ओलीसमेत चुनावका लागि तयार भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट कांग्रेस एमालेको सरकार विस्थापित भएर संविधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।

प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनावको मिति तय भए पनि अझैसम्म चुनावी वातावरण बन्न नसकेको अवस्थामा राष्ट्रपतिको अग्रसरतामा सरकार र मुख्य दलहरुबीच छलफल भएको हो।

चुनावी सरकारको नेतृत्व गरेकी कार्कीले नै दलका नेताहरुसँग संवाद गर्न हिचकिचाइरहेका बेला राष्ट्रपति पौडेलको संयोजनमा पहिलोपटक भेटवार्ता भएको हो। मंगलबारको भेटलाई राजनीतिक रुपमा आइसब्रेकका रुपमा लिइएको छ।