काठमाडौँ – वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य नियुक्त भएकी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यलाई विभागको नेतृत्व सुम्पेका हुन् । आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशक बन्ने पहिलो महिला बनेकी छन् ।
उनको नियुक्तिसँगै वैदेशिक रोजगारीको व्यवस्थापन, पारदर्शिता र श्रमिकको हकहित संरक्षणमा नयाँ पहल हुने अपेक्षा गरिएको छ । विभागले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
नवनियुक्त महानिर्देशक आचार्यले आफ्नो कार्यकालमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ ।








