काठमाडौँ- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो । कुल १,५४८ नवीकरण भएका सदस्यहरूमध्ये १,४८३ जनाको प्रत्यक्ष उपस्थिति रहेको यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई थप मजबुत बनाएको छ ।
साधारण सभाले संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ । सभामा आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस हुनुका साथै मार्गनिर्देशनहरू समेत पारित गरिएको छ ।
अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा पनि रचनात्मक विचार-विमर्श भएको नाडाले जनाएको छ ।
यसै साधारण सभाले संस्थाको नयाँ कार्यसमिति चयनका लागि आगामी २०८२ साल पुस २५ गते निर्वाचन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । साथै, महासंघको औचित्य तथा आवश्यकता उपर छलफल गर्दै प्रचलित कानुन बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन र समन्वयमा प्रचलित कानुनी व्यवस्था अनुसार सम्पन्न गरिएको यो सभा सदस्यहरूको उच्च अनुशासनका कारण सौहार्दपूर्ण रूपमा सकिएको थियो ।








