images
images

नाइमा (NAIMA) द्वारा यातायात विभाग र ट्राफिक प्रहरीलाई आपतकालीन सहयोग हस्तान्तरण

काठमाडौं- नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायहरूलाई गरेको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी हस्तान्तरण गरेको छ।

नाइमाका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मङ्गलबार एक कार्यक्रमका बीच सो सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरणका क्रममा कार्यकारी निर्देशक राजकुमार दुलालले विवरण दिँदै यातायात व्यवस्था विभाग, मीनभवनको मुख्य भवनका सम्पूर्ण झ्याल र ढोकाहरूको पुनर्निर्माण गरिएको जानकारी दिए। यसका साथै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक फर्निचर, फर्निसिङ, कम्प्युटर र प्रिन्टर लगायतका सामग्रीहरू उपलब्ध गराइएको छ।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। सोही सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गर्दै उहाँले संस्थाप्रति आभार व्यक्त गरे।

त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्दै प्राप्त सहयोगको उच्च प्रशंसा गरे।

नाइमाका अध्यक्ष रितु सिंह वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्न पाएकोमा गौरवान्वित महसुस भएको बताए।

उनले आगामी दिनहरूमा पनि यस्तो सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए। नाइमाले स्थापनाको छोटो समयमै सरकारी निकायहरूसँग दीर्घकालीन साझेदारी स्थापना गर्न सफल भएको छ।