काठमाडौँ – नेपाली काँग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ । बिहीबारसम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण सम्पन्न भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
‘अहिलेसम्म ७५ प्रतिशत सदस्यता नवीकरण भयो,’ बिहीबारको बैठकपछि उनले भने । काँग्रेसमा ८ लाख ८९ हजार सदस्य छन् । उनले छुटपुट दर्ता र केही ठाउँका विवादलाई आन्तरिक छलफलबाटै टुंग्याउने निर्णय भएको बताए । त्यस्तै जनसम्पर्क समितिअन्तर्गत ओमान, युएई, साउदी अरबको क्रियाशील पनि टुंग्याइएको रसाइले जानकारी दिए ।
त्यस्तै विवाद भएका सुर्खेत, काठमाडौँ ६ र पर्सामा नवीकरण फारम पठाउने र नवीकरण केन्द्रमै गर्ने निर्णय भएको उनको भनाइ छ । रसाइलीले जनता समाजवादी पार्टीबाट काँग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ वटा सदस्यता नवीकरण फारम दिने निर्णय भएको पनि उनले जानकारी दिए ।








