गोरखा – गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो निर्वाचनका लागि गोरखा–१ बाट सिफारिस भएका छन्।
नेकपा गोरखाका इञ्चार्ज अमर तमुका अनुसार बिहीबार बिहान जिल्ला कार्यालयमा सम्पन्न विस्तारित बैठकले प्रचण्डलाई गोरखा–१ बाट उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले उम्मेदवारको प्रारम्भिक नामावली केन्द्रमा पठाइसकेको उनले जानकारी दिए।
बैठकले गोरखा–१ बाटै हरिराज अधिकारी, जगनाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
त्यस्तै, गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरिएको इञ्चार्ज तमुले बताए।
यसैगरी, राष्ट्रियसभा निर्वाचनका लागि खोपबहादुर कँडेल, स्थिरप्रसाद खनाल र दुर्गा न्यौपाने भट्टराईको नाम सिफारिस गरिएको छ।
विस्तारित बैठकले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको नामसमेत टुंग्याएको छ। समानुपातिक उम्मेदवारका रूपमा कमला नहर्की, भगवती तिवारी, छमबहादुर गुरुङ, कञ्चन कुमाल, सुदीप नगरकोटी र कविता अर्यालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।
पार्टी केन्द्रले सिफारिस भएका नामहरूमध्येबाट अन्तिम उम्मेदवार चयन गर्ने बताइएको छ।








