images
images

चितवन–३ मा रेनु दाहालको राजनीतिक यात्रा नयाँ मोडमा

चितवन–भरतपुर महानगरपालिकाको नेतृत्व गर्दै आएकी मेयर रेनु दाहाल अब संघीय संसदको राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएकी छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी संसदीय निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट दाहाललाई सर्वसम्मत रूपमा प्रतिनिधिसभा उम्मेदवार सिफारिस गरेपछि उनको राजनीतिक यात्राले नयाँ मोड लिएको हो।

पार्टीको क्षेत्रीय समितिको बैठकले दाहालको नाम एकल रूपमा सिफारिस गरेसँगै स्थानीय तहको सफल नेतृत्वलाई केन्द्रिय राजनीतिमा लैजाने पार्टी रणनीति स्पष्ट भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। भरतपुर महानगरमा विकास, व्यवस्थापन र राजनीतिक स्थायित्वको अनुहारका रूपमा स्थापित दाहालमाथि पार्टीले ठूलो जिम्मेवारी सुम्पिएको देखिन्छ।

आफ्नो नाम सिफारिस भएपछि दाहालले पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्दै महानगरको जिम्मेवारी छोडेर नयाँ चुनौती स्वीकार गर्न तयार रहेको बताएकी छन्। “साथीहरूको विश्वासलाई सम्मान गर्छु। सजिलो निर्णय होइन, तर पार्टीको निर्णयलाई चुनौतीका रूपमा लिएको छु,” उनले प्रतिक्रिया दिइन्।

आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै दाहालको उम्मेदवारीले चितवन–३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ। स्थानीय तहमा स्थापित नेतृत्वलाई संघीय तहमा लैजाने पार्टीको यो निर्णयले चुनावी परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चितवनको राजनीतिक बहसको केन्द्रमा पुगेको छ।