काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले शुक्रबार राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव वा सो सरहका ३० जना कर्मचारीको सरुवा गरेको हो। सरुवाअन्तर्गत नौ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हेरफेर गर्दै, नौ जनालाई नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ।
पछिल्लो समय सरुवा प्रक्रियामा पुनः पुरानै अभ्यास दोहोरिएको भन्दै कर्मचारी स्तरमा गुनासो बढ्दै गएको छ। वास्तविक आवश्यकता बाहेक पनि केही कर्मचारीहरू बारम्बार आफूलाई अनुकूल र रोजेको स्थानमै घुमिफिरी पुग्ने गरेको र पछिल्ला सरुवा निर्णयहरूले प्रणालीगत सुधारको संकेत नदेखाएको सम्बन्धित अधिकारीहरूको भनाइ छ।








