images
images

फ्लोरिडामा ट्रम्प र जेलेन्स्की भेट्दै, युद्ध अन्तका लागि अन्तिम सहमति हुने विश्वास

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच रसिया-युक्रेन युद्ध अन्त्यबारे अमेरिकाको फ्लोरिडामा भेटघाट हुने भएको छ।

जेलेन्स्कीका अनुसार उक्त भेटमा अमेरिकाको मध्यस्थतामा तयार पारिएको शान्ति योजनाका साथै अमेरिकाले दिने सम्भावित सुरक्षा ग्यारेन्टीसम्बन्धी प्रस्तावहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

मस्कोले वार्तामा ढिला प्रगति भइरहेको दाबी गर्दै आएको छ। तर रुसले, यदि उसले पनि सेना फिर्ता गर्योत भने युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेना हटाउने जेलेन्स्कीको प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको छैन।

पछिल्लो समय शान्ति स्थापनाका लागि अमेरिकाले तयार पारेको २० बुँदे योजनामा दुई देशका राष्ट्रपतिबीच निर्णायक छलफल हुने र अधिकांसमा युक्रेन सहमत भएपनि केही विषयमा भेटेरै छलफल गर्ने बताउँदै आएका छन्।

युक्रेन विशेष गरेर जमिनको विषय र सुरक्षा ग्यारेन्टीको विषय भने ट्रम्पसँगै बसेर निर्णायक छलफल गरी टुंग्याउनुपर्ने जेलेन्स्कीले बताउँदै आएका छन्। सोही अनुसार आइतबार ती दुई विषयमा ट्रम्पसँग छलफल हुने जेलेन्स्कीले बताएका छन्। उनले नयाँ वर्षअघि धेरै विषयमा निर्णय हुन सक्ने दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि क्रिशमसअघि नै रूस-युक्रेन सहमतिमा पुग्ने बताएका थिए। यद्यपि जमिनको विषयमा सहमति नजुटेपछि दुई देशबीच सहमति हुन सकेको छैन्। जेलेन्स्कीले नयाँ वर्षअघि नै एकखालको निर्णयमा पुग्ने विश्वास ब्यक्त गरेका छन्।

आइतबार ट्रम्प र जेलेन्स्कीबीचको छलफलमा युरोपेली नेताहरू पनि अनलाइनमार्फत जोडिन सक्ने जनाइएको छ। जेलेन्स्कीले नाटो प्रमुख मार्क रुटे र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब्बसँग पनि तयारीबारे छलफल गरिसकेका छन्।