images
images

मन्त्री श्रद्धा श्रेष्ठद्वारा ज्येष्ठ नागरिकका लागि ‘१११५’ हटलाइन र नि:शुल्क एम्बुलेन्स सेवा घोषणा

काठमाडौं- पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा “हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने राष्ट्रिय नारासहित माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मानजनक, सुरक्षित र मर्यादित जीवन सुनिश्चित गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको छ।

समाजका अग्रज, अनुभवका खानी तथा हाम्रो इतिहासका साक्षीका रूपमा रहेका ज्येष्ठ नागरिकलाई राज्यका नीति, कार्यक्रम र सेवाको केन्द्रमा राख्नु सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री श्रेष्ठले स्पष्ट गर्नुभयो।

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवा पहुँच सुदृढ बनाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा ‘१११५’ विशेष हटलाइन सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको छ। उक्त सेवामार्फत ज्येष्ठ नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा र समस्याहरू सिधै सम्बोधन हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित नि:शुल्क एम्बुलेन्स सेवा एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो। पशुपति वृद्धाश्रमको अनुगमनका क्रममा देखिएको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स अभावलाई सम्बोधन गर्दै आश्रमको सेवा र पूर्वाधार स्तरोन्नतिको कार्य पनि तीव्र रूपमा अघि बढाइएको छ।

ज्येष्ठ नागरिकहरूको दैनिक आवतजावतलाई सहज, सुरक्षित र सम्मानजनक बनाउन सार्वजनिक यातायातमा थप सुविधा र छुटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ।

मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकको संरक्षण र सम्मान राज्यको मात्र नभई परिवार, समाज, स्थानीय तह तथा सम्पूर्ण सरोकारवालाहरूको साझा उत्तरदायित्व भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रमहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।