काठमाडौं -प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका निम्ति आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शनिबार (पुस १२) प्रमुख तीन दलका शीर्ष नेताहरू – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सामूहिक छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका निम्ति वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । त्यसपछि प्रधानमन्त्री कार्कीले उचित वातावरण बनाउने प्रतिबद्धता जनाएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सञ्चारमन्त्री खरेलका अनुसार, देउवा र प्रचण्डले पनि ओलीलाई निर्वाचनका निम्ति तयार हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताहरूबीच निर्वाचनमा जाने समझदारी भएको सञ्चारमन्त्री खरेलले बताए ।
सञ्चारमन्त्री जगदीश खरेलको भनाइ पढ्नोस्–
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिधा भन्नुभएको छ । उहाँले फागुन २१ को चुनावको यताउता नगरौँ, जसरी हुन्छ चुनाव गराऔँ । विशेष परिस्थितिमा यो सरकारले काम गरिरहनुपरेकाले सरकारले गरेको कामको पनि उहाँले एकदमै प्रशंसा गर्नुभएको छ । उहाँले हामी चुनावका लागि तयार रहेको र एमाले र कांग्रेसलाई पनि तयार हुन भन्नुभयो । अब कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको प्राथमिकता अब पुनर्स्थापना होइन, चुनाव नै हो, चुनावका लागि तयार हुन एमाले अध्यक्ष केपी ओलीलाई पनि भन्नुभयो । र, प्रधानमन्त्रीले पनि सबै राजनीतिक दलहरूलाई चुनावमा भाग लिन र सहयोग गर्न आग्रह गर्नुभयो । र, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले त्यसपछि चुनावका लागि एमाले तयार छ, त्यसका लागि वातावरण बनाइदिनुपर्यो भन्नुभयो । र, यी सबैको जवाफमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले उचित सम्पूर्ण सुरक्षाका वातावरणहरू बनाउँछ भन्ने प्रतिबद्धता भयो । न्युज एजेन्सी नेपाल







