images
images

एकताको नयाँ अध्याय: रवि र बालेनबीच सातबुँदे सहमति

काठमाडौँ- नेपालको राजनीतिमा हलचल पैदा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ।

‘नयाँ शक्ति’ को रूपमा उदाएका दुई प्रभावशाली व्यक्तिहरुले अब एउटै झण्डा र एउटै चुनाव चिन्ह ‘घण्टी’ मुनि गोलबद्ध हुने घोषणा गरेका हुन्।

यो सहमतिले दशकौँदेखि नेपाली राजनीतिमा जकडिएका पुराना दलहरूलाई ठूलो चुनौती दिने र आम नागरिकमा नयाँ आशाको सञ्चार गर्ने अपेक्षा गरिएको छ।

रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्री

सहमति पत्रको सबैभन्दा रोचक पक्ष नेतृत्वको बाँडफाँड रहेको छ। जस अनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिको जिम्मेवारीमा रहनेछन् भने बालेन्द्र शाह आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता र पार्टीको तर्फबाट ‘भावी प्रधानमन्त्री’ को उम्मेदवार बन्नेछन्।

१० वर्षभित्र नेपाललाई ‘मध्यम-आय’ भएको राष्ट्र बनाउने संकल्प

दुई नेताबीच भएको ७ बुँदे सहमतिमा केवल सत्ता समीकरण मात्र नभई देशको आर्थिक र सामाजिक रूपान्तरणको स्पष्ट मार्गचित्र पनि समेटिएको छ:

• भ्रष्टाचारविरुद्धको साझा मोर्चा: युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनलाई स्वामित्व लिँदै शहीद र घाइते परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता।

• आर्थिक मार्गचित्र: अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक ‘मध्यम-आय’ भएको राष्ट्र बनाउन गहिरो नीतिगत र संरचनात्मक सुधार गर्ने।

• पहिचान र चिन्ह: पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, झण्डा साविककै रहने र चुनाव चिन्ह ‘घण्टी’ रहने।

• दक्षता र योग्यता: पार्टीको संरचनामा विज्ञहरू र युवा अभियन्ताहरूलाई योग्यता र सार्वजनिक छविको आधारमा उचित स्थान दिइने।

वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान

सहमति पत्रको सातौँ बुँदामा अन्य परिवर्तनकारी र सुसंस्कृत राजनीतिक शक्तिहरूलाई पनि ‘घण्टी’ चिन्हमा गोलबद्ध हुन खुला आह्वान गरिएको छ।

आम निर्वाचनलगत्तै यी सहमतिहरूलाई निर्वाचन आयोगमा औपचारिक रूपमा अद्यावधिक गर्ने दुई पक्षबीच सहमति भएको छ।