काठमाडौँ – आइतबारदेखि सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ।
जेनजी आन्दोलनपछि भदौ २७ गते प्रतिनिधिसभा विघटन भए पनि संवैधानिक व्यवस्थाका कारण उनीहरुको पद कायम भएको थियो। तर आइतबार रातिदेखि संविधानको धारा ९१ (६) क अनुसार पदावधि सकिएको हो।
संसद विघटन भएको अवस्था अर्को हुने चुनावको उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभाको पदावधि कामय रहेन व्यवस्था छ।
उक्त प्रावधानमा भनिएको छ, ‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्।’
निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको सूची पेश गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। समानुपातिक तर्फको ११० सिटका लागि हुने मनोनयनलाई नै उम्मेदवारी दर्ता भएकाले घिमिरे र रानाको कार्यकाल सकिएको हो। घिमिरे २०७९ माघ ५ गते सभामुख चयन भएका थिए।
पद सकिएसँगै उनीहरुले सरकारी सेवा सुविधा र निवास पनि छाड्ने तयारी गरेका छन्।








