काठमाडौँ – माघ ११ गते हुने राष्ट्रियसभाको चुनावका लागि उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आइतबार खर्च गर्न पाउने शीर्षक र रकम सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, इन्धनमा १० हजार, प्रचार प्रसारमा १४ हजार पाँच सय र दुवानीमा दश हजार खर्च गर्न पाउनेछन्।
त्यस्तै गोष्ठी अन्तरक्रियाका लागि एक लाख, अन्य प्रचार प्रसारका लागि १४ हजार पाँच सय, कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध खर्च बापत ३० हजार खर्च गर्न पाउनेछन्।
राष्ट्रियसभा चुनावका लागि स्थानीय तहका पदाधिकारी र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डल हुनेछ।









