images
images

नेपाली राजनीतिमा निर्णायक मोड: नेकपा र नागरिक उन्मुक्ति पार्टी एकै ब्यानरमा

काठमाडौँ-नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको संकेत गर्दै रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सोमबार औपचारिक रूपमा पार्टी एकता सम्पन्न भएको छ।

राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा दुवै पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकताको औपचारिक घोषणा गरिएको हो। सहमतिपत्रमा नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।

एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै रहने र आगामी सबै निर्वाचनमा चुनाव चिह्न ‘तारा’ प्रयोग गर्ने सहमति भएको छ।

संगठनात्मक समायोजन र नेतृत्व व्यवस्था

पार्टी एकतासँगै साविकका दुवै पार्टीका संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन्। नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति, मातहतका संरचना तथा जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ।

एकीकृत पार्टीलाई सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन गरिने बताइएको छ।

टीकापुर घटना र सीमान्तकृत समुदायका मुद्दा

एकतापत्रमा नागरिक उन्मुक्ति पार्टीले उठाउँदै आएका आधारभूत राजनीतिक तथा सामाजिक मुद्दाहरूलाई विशेष प्राथमिकता दिइएको छ। टीकापुर घटनासँग सम्बन्धित मुद्दाहरू खारेज गर्न पहल गर्ने, साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता एकीकृत पार्टीले जनाएको छ।

त्यसैगरी थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सीमान्तकृत समुदायलाई राज्यका सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

आगामी राजनीतिक कार्यदिशा

एकीकृत पार्टीले संघीयता, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै समाजवादोन्मुख राज्य निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। वर्तमान संविधानका सकारात्मक पक्षहरूको संरक्षण गर्दै राष्ट्रिय हितअनुकूल आवश्यक संशोधनका लागि पहल गर्ने नेताहरूले बताएका छन्।

रेशम चौधरी नेतृत्वको अर्को समूहसँगको सम्भावित एकताको चर्चा चलिरहेकै बेला नागरिक उन्मुक्ति पार्टीले नेकपासँग एकता गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। एकता घोषणासँगै नेताहरूले अन्य वामपन्थी र प्रगतिशील शक्तिहरूलाई पनि एउटै राजनीतिक केन्द्रमा गोलबद्ध हुन अपिल गरेका छन्।

यस्तो छ सहमतिः