काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच सोमबार राति सातबुँदे सहमति भएको छ। उक्त सहमतिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह साक्षी बसेका छन्।
सहमति अनुसार कुलमान घिसिङलाई रास्वपाको पहिलो वरियताका उपसभापति बनाइने भएको छ। सहमतिपत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।
यो सहमतिसँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्ततः एउटै राजनीतिक मोर्चामा उभिएका छन्, जसलाई समसामयिक राजनीतिमा अर्थपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।
सोमबार हस्ताक्षर भएको सहमतिपत्रको चौथो बुँदाअनुसार अब रास्वपामा कुल तीन जना उपसभापति रहनेछन्। यद्यपि सहमतिपत्रमा वरियताबारे स्पष्ट रूपमा उल्लेख नगरिए पनि नामावलीमा कुलमान घिसिङको नाम सबैभन्दा अगाडि राखिएको छ। त्यसपछि क्रमशः डिपी अर्याल र तेस्रोमा स्वर्णिम वाग्लेको नाम उल्लेख छ।
यसअघि पार्टीमा दुई जना मात्र उपसभापति रहँदा वरियतामा डिपी अर्याल पहिलो र स्वर्णिम वाग्ले दोस्रो स्थानमा थिए।
सहमतिको चौथो बुँदामा स्पष्ट रूपमा भनिएको छ,
“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने।”
यस सहमतिलाई रास्वपाको संगठनात्मक विस्तारसँगै वैकल्पिक राजनीतिक धारलाई थप सशक्त बनाउने कदमका रूपमा विश्लेषण गरिएको छ।








