काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । उनका परिवारजन र पार्टी नेताहरूले निधनको पुष्टि गरेका छन् ।
खालिदा जिया विगत केही वर्षदेखि फोक्सोको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, गठिया र आँखाको समस्यासँग लडिरहेकी थिइन् ।
खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशकी प्रधानमन्त्री भएकी थिइन् । उनी पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् ।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए । उनी यसै महिना बंगलादेश फर्किएका छन् । उनका कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयघातका कारण निधन भएको थियो ।
शेख हसीनाकी प्रमुख राजनीतिक प्रतिद्वन्द्वी
बंगलादेशको राजनीति दुई नेताहरूको वरिपरि घुम्दै आएको थियो, जसमा एक अवामी लिगकी नेता शेख हसीना थिइन् भने अर्कोतर्फ बीएनपीकी खालिदा जिया ।
सन् १९८० को दशकमा बंगलादेशमा सैन्य शासन थियो । त्यतिबेला सैन्य शासनविरुद्ध हसिना र खालिदा जिया सडकमा सँगै आन्दोलन सहभागी हुन्थे । सन् १९९० मा तानाशाह इर्शादको पतनपछि लोकतन्त्र पुनःस्थापित भयो । सन् १९९१ मा खालिदा जियाले चुनाव जितेपछि उनी र शेख हसीनाबीच राजनीतिक शत्रुता चर्कियो ।
सन् १९९० पछि बंगलादेशमा भएका चुनावहरूमा सत्ता कहिले खालिदा जियाकोमा त कहिले शेख हसीनाकोमा पुग्यो । मिडियाले यस अवस्थालाई ‘ब्याटल अफ बेगम्स’ अर्थात् दुई बेगमहरूको लडाइँ भनेर चित्रित गरेका थिए । एनडीटीभी







