images
images

तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछ: प्रचण्ड

काठमाडौं -नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायको सांस्कृतिक पर्व म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएकाे छ ।

तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै संयोजक प्रचण्डले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएकाे छ ।

प्रचण्डले संस्कृति र संस्कारहरू समाजको पहिचानका आधारस्तम्भ भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव र सहअस्तित्व नेपाली समाजको सांस्कृतिक जीवनको सुन्दर विशेषता भएको बताउनु भएकाे छ । तमु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्रलाई स्पष्ट रूपमा उजागर गर्दै आएको प्रचण्डकाे भनाइ छ ।

संयोजक प्रचण्डले  बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल नेपालमा सबै जाति तथा समुदायको समानता, समावेशिता र सहअस्तित्वमा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता मजबुत हुने उल्लेख गर्नुभएकाे छ ।

परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य योगदान पुर्‍याएका समुदाय तथा तिनका संस्कृतिहरूलाई गणतन्त्रको मर्मअनुसार संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याउनु भएकाे छ ।

अन्त्यमा, प्रचण्डले ल्होसार तथा म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यी पर्वहरूले सम्पूर्ण नेपालीबीच पारस्परिक सद्भाव, सहिष्णुता र आपसी सम्मानको भावना अझ गहिरो बनाओस् भन्ने कामना व्यक्त गर्नुभएकाे छ ।