काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा हो-हल्ला गर्ने सहर बजारका मान्छेहरूले जनताका मुक्तिदाता भएको भ्रम पार्न खोजिएको बताएका छन् ।
पार्टीको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुमपूर्वदेखि काठमाडौँसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले दशकौँ लडाइँ र तपस्यासहित विचार बोकेर आएका दलहरू सिद्धिसके भनेर हल्ला फिँजाइएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सोसल मिडिया हेर्यो भने । सहर-बजारका मान्छेका हो-हल्ला हेर्यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यीनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हात-हातमा त्यस्तै हो कि भन्ने भ्रम परेको छ ।’
दाहालले आउने दिनमा पार्टीलाई बलियो बनाउन, राष्ट्रको एकता बलियो बनाउन शान्ति समृद्धि र समाजवादको यात्रालाई अझ सशक्त बनाउन संकल्प गर्नुपर्ने बेला आएको बताएका छन् ।
रावलको पदयात्राको प्रशंसा गर्दै उनले पार्टी एकताको पक्ष र राष्ट्र अप्ठ्यारो भएको बेला एकताको सन्देश प्रवाह भएको बताएका छन् ।







