काठमाडौँ, पुष १६ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सुरक्षा, सम्मान र निर्वाध व्यवसायिक वातावरण अनिवार्य रहेको बताएका छन्।
महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य : सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिले निजी क्षेत्रको मनोबल गम्भीर रूपमा कमजोर बनेको उल्लेख गरे। उनले निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।
“निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण अझै बनेको छैन,” उनले भने, “गलत कार्य गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने जोखिम छ, जसले पुँजी पलायन र आर्थिक असफलताको खतरा निम्त्याउँछ।”
अध्यक्ष ढकालले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति तत्काल मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। उद्योग, कलकारखाना, प्रतिष्ठान र निजी सम्पत्तिलाई बन्द, हडताल, तोडफोड र आगजनीबाट सुरक्षित गर्न ‘निषेधित क्षेत्र’ घोषणा गर्नुपर्ने उनको सुझाव थियो।
उनले भदौको आन्दोलनका क्रममा करिब ४० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति र करिब ८१ अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रको नोक्सानी भएको महासंघको अध्ययन सार्वजनिक गरे।
“निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको छ,” ढकालले भने, “तर यही क्षेत्र सबैभन्दा बढी असुरक्षित बनेको छ।”
सरकार करिब डेढ खर्ब रुपैयाँ घाटामा रहेको र बैंकहरूमा करिब ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थन्किएको उल्लेख गर्दै उनले निजी क्षेत्रले जोखिम लिन नसक्ने अवस्था बनेको बताए। “लगानी नभए रोजगारी हुँदैन, रोजगारी नभए आयस्तर बढ्दैन, र आयस्तर नबढेसम्म मानव विकास सम्भव हुँदैन,” उनले स्पष्ट पारे।
आसन्न निर्वाचनलाई लोकतन्त्र संस्थागत गर्ने महत्त्वपूर्ण प्रक्रिया भन्दै अध्यक्ष ढकालले समयमै निर्वाचन सम्पन्न गर्न सरकारको प्रयासको प्रशंसा गरे। तर उनले राजनीतिक स्थायित्वसँगै निजी क्षेत्रको सुरक्षा र सम्मानलाई पनि राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले सरकार, राजनीतिक दल, निजी क्षेत्र र जेन–जी पुस्ताबीच स्पष्ट प्रतिवद्धता आवश्यक रहेको बताए। युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न सहुलियत कर्जा, सहज व्यवसाय दर्ता र बजार सुनिश्चिततासहितको युवा उद्यमशीलता विकास कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनको धारणा थियो।
अध्यक्ष ढकालले सञ्चारमाध्यमप्रति पनि जिम्मेवार पत्रकारिताको आग्रह गर्दै गलत सूचना र अतिरञ्जित समाचारले अर्थतन्त्र, रोजगारी र सामाजिक सद्भावमा गम्भीर असर पार्ने चेतावनी दिए।
कार्यक्रममा महासंघको पहलमा स्थापना गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) मार्फत स्वदेशी पुँजी परिचालन गरी ठूला पूर्वाधार र स्टार्टअपमा लगानी गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत सार्वजनिक गरियो।
“निजी क्षेत्र समृद्धिको सारथी हो,” अध्यक्ष ढकालले भने, “विश्वले स्वीकार गरेको सत्य हो— Private Sector Powers the Nation।”
उनले दण्डहीनता अन्त्य, समयमै निर्वाचन र निर्वाध पेशा–व्यवसायको सुनिश्चिततामार्फत शान्ति, स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्न सबै पक्षलाई एकजुट हुन आह्वान गरे।








