images
images

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री गुप्तालाई पुर्पक्ष थुनामा पठाउन आदेश

काठमाडौँ – विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं एमाले नेता राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

गत असोजमा पोखाराको लिचीबारी प्रकरणमा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। बुधबार विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो।

आयोगले गत असोजमा पूर्वमन्त्री गुप्तासहित पूर्वभूमिसुधार मन्त्री रन्जिता श्रेष्ठ मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी सुजनकुमार तामाङ, खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरविरुद्ध मुद्दा दायर गरेको थियो।

मन्त्री हुँदा गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ७८ लाख रुपियाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो।

कास्कीको पोखरा–१६ (साविक बाटुलेचौर) क्षेत्रमा रहेको जग्गा दर्ता बिचौलिया र पहुँचवालाको चंगुलमा परेको थियो।