images
images

राहदानी वितरण पूर्ववत् तालिकाअनुसार हुने

काठमाडौँ – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइ सहज भएसँगै राहदानी वितरण प्रक्रिया साविककै व्यवस्थाअनुसार सञ्चालन हुने जनाएको छ। जेन जेड आन्दोलनअघि लागू रहेको तालिकाअनुसार राहदानी सम्बन्धित कार्यालयहरूमा पठाइने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ।

विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार अब सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिएका आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाइनेछ।

तत्काल राहदानी आवश्यक भई विभागमै आवेदन दिनुपर्ने आवेदकका लागि मागअनुसार पर्याप्त भेट समय (अपोइन्टमेन्ट) खुला गरिएको विभागले जनाएको छ। आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा लिन विभागले सम्पूर्ण सेवाग्राहीलाई अनुरोध गरेको छ।

विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट कम्तीमा गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका आवेदकको राहदानी तयार गरी सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। त्यसपछि आवेदन दिने आवेदकको राहदानी पुस २५ गतेसम्म पठाउने व्यवस्था मिलाइएको छ।

यस्तै, विदेशस्थित नेपाली नियोगमार्फत मङ्सिर मसान्तसम्म आवेदन दिएका आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइसकिएको विभागले जनाएको छ। अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार राहदानी पठाइनेछ।

साथै, यही महिनाको २५ गतेपछि भने साविककै समय तालिकाअनुसार एक–दुई हप्ताको अन्तरालमा छपाइ गरी सम्बन्धित कार्यालयमा राहदानी पठाइने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ।