images
images

गगन–विश्व: नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशनमा जाने निर्णय

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्।

महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएकाले विशेष महाधिवेशनमा जाने निर्णय गरिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको माग दर्ता गराएका थिए। सो मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै भए पनि समयमै सम्पन्न गर्न नसकिने अवस्था आएपछि विशेष महाधिवेशन नै विकल्पका रूपमा अघि आएको महामन्त्रीद्वयको भनाइ छ।

‘पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाली कांग्रेसभित्र पछिल्लो समय बढ्दो आन्तरिक दबाब र सांगठनिक चुनौतीका बीच विशेष महाधिवेशनले पार्टीको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।