खाँदबारी – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज संखुवासभामा पार्टी एकता सन्देश सभा आयोजना गर्दैछ। दिउँसो सुरु हुने उक्त सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टी स्रोतका अनुसार सम्बोधनका लागि संयोजक प्रचण्डसहितका शीर्ष नेताहरू संखुवासभातर्फ प्रस्थान गरिसकेका छन्। सभामा पार्टी एकता, वर्तमान राजनीतिक अवस्था तथा आगामी कार्यदिशाका बारेमा नेताहरूले धारणा राख्ने अपेक्षा गरिएको छ।
सभाको अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई प्रचण्डसहितका नेताहरूले औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ।
नेकपाले देशभर पार्टी एकता सन्देश प्रवाह गर्ने उद्देश्यसहित विभिन्न जिल्लामा यस्ता सभा आयोजना गर्दै आएको छ। संखुवासभाको सभामा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहने पार्टीले जनाएको छ।








