काठमाडौं – नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार (पुस १८) देउवालाई भेट्न पुगेको टोलीले पार्टी जोगाउन आग्रह गरेको हो ।
बिहीबार (पुस १७) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेका थिए । त्यसपछि ‘२५ भाइ’ देउवालाई भेट्न पुगेका हुन् ।
उनीहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिए ।
“विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ,” केन्द्रीय सदस्य पुष्पा भुसालले भनिन्, “त्यसैले यो पार्टीको अभिभावकको नाताले पार्टी जोगाउनुस् भनेर हामीले सभापतिज्यूलाई आग्रह गरेका छौँ ।”
उनीहरूले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूमाथि प्रहार गर्न थालिएको गुनासो समेत देउवासँग गरेका थिए ।








