images
images

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा दिँदै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।

महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो ।

महानगरका चिकित्सक डा. दिवस न्यौपाने सुरुमा स्टाफ नर्सले घरमा पुगी ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र आवश्यक परेको खण्डमा चिकित्सक गएर ती ज्येष्ठ नागरिकको उपचार गर्ने बताए ।

महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि तालिम दिइसकेको विभागमा प्रमुख केसीले जानकारी दिए । “हामीले सबै वडाका स्टाफ नर्सलाई तालिम दिइसकेका छौँ । अब सम्बन्धित वडाका वडाध्यक्ष र केन्द्रका इञ्चार्जसँगको छलफलपछि हामीले ती ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न घरघरमा जान्छौँ”, उनले भने । महानगरमा ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेका छन् ।