काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताएका छन्।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थितिसमेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताए।
उनले भने, ‘हाम्रो मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीहरुको कारणले आम नवयुवा पुस्तामा ठूलो असन्तुष्टि छ। त्यो असन्तुष्टि बेला बेलामा प्रकट हुँदै आएको अवस्था पनि छ।’
उनले आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तीव्र बनाउने, सुशासनको अनुभूति दिलाउने तथा स्रोत र सम्पत्तिमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वाससमेत व्यक्त गरे।
देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै उनले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे।
उनले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने बताए। उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरुको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउनसमेत आम नागरिकलाई आग्रह गरे।








