images
images

वैदेशिक रोजगार बोर्डमा २५ करोडको ठेक्का विवाद, मन्त्रीको निर्देशनमा छानबिन

काठमाडौँ -सिपमूलक तालिमका नाममा वैदेशिक रोजगार बोर्डले अघि बढाएको ठेक्का प्रक्रिया स्थगित गरिएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त ठेक्का स्थगन गर्दै थप छानबिन गर्ने निर्णय गरेको हो।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती तथा सम्बन्धित कर्मचारीहरूले करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको तालिम कार्यक्रमको ठेक्का अपारदर्शी रूपमा अघि बढाएको आरोप लागेको छ। लक्षित वर्ग नै स्पष्ट रूपमा पहिचान नगरी तालिम सञ्चालन गर्न लागिएको विषयमा समेत गम्भीर प्रश्न उठेका थिए।

तालिमका लागि संस्था छनोट प्रक्रिया पनि पारदर्शी नभएको गुनासो आएपछि मन्त्रालयले यसअघि नै छानबिन समिति गठन गरेको थियो। समितिले दिएको प्रतिवेदनका सुझावलाई बेवास्ता गर्दै ठेक्का प्रक्रिया अघि बढाइएपछि विषय थप विवादित बनेको थियो।

यस विषयमा मन्त्रालयले अब पुनः विस्तृत छानबिन गर्ने जनाएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारबाट संकलन गरिने रकम सिपमूलक तालिमका नाममा अपारदर्शी ढंगले खर्च हुँदै आएको विषयमा आइतबार नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएपछि सरकार दबाबमा आएको थियो।