images
images

महासचिव गुटेरेसले भने : ‘भेनेजुएलाको अस्थिरता र भविष्यमा बस्ने नजिरप्रति चिन्तित छु’

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि अन्तर्राष्ट्रिय कानुनको पालना अनिवार्य रहेकोमा जोड दिए ।

अमेरिकी सैन्य कारबाहीका क्रममा अपदस्थ भेनेजुएलाली नेता निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिइएको घटनाप्रति लक्षित गर्दै गुटेरेसले यसले पार्न सक्ने दीर्घकालीन असरबारे चेतावनी दिएका छन् । ‘यस घटनाले देशमा निम्त्याउन सक्ने अस्थिरता, क्षेत्रीय प्रभाव र भविष्यमा विभिन्न राष्ट्रहरूबीचको सम्बन्ध सञ्चालनमा बस्न सक्ने नजिरप्रति म निकै चिन्तित छु, ’महासचिवले भने ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भेनेजुएला दशकौँदेखि आन्तरिक अस्थिरता, सामाजिक र आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै गुटेरेसले त्यहाँको लोकतन्त्र कमजोर भएको र लाखौँ मानिस विस्थापित हुनुपरेको यथार्थ पनि स्मरण गरे । उनले भने, ‘अहिलेको अवस्था अत्यन्तै नाजुक छ, तर अझै पनि ठूलो र विनाशकारी द्वन्द्वलाई टार्न सम्भव छ ।’

यस्तो जटिल र अन्योलपूर्ण परिस्थितिमा सिद्धान्तमा अडिग रहनुपर्नेमा जोड दिँदै उनले लागूऔषध ओसारपसार, प्राकृतिक स्रोतको विवाद र मानवअधिकारका सवालहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानुनमा पर्याप्त संयन्त्र रहेको बताए । ‘हामीले अपनाउनुपर्ने बाटो यही नै हो, ’उनले भने ।