काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त वक्तव्य जारी गर्दै यही पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन्।
उनीहरूले काठमाडौँको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन पार्टीका महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
विशेष महाधिवेशन कानूनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको उनीहरूको ठहर छ।
महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ,’महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ। पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ।’
कांग्रेसको विधानलाई आत्मसात गर्दै विशेष महाधिवेशन आह्वान गरिएको उनीहरूले बताएका छन्।
‘विधानको धारा ३ (१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछौँ,’ महामन्त्रीद्वयले भनेका छन्।











