काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिका लागि बृहत् राष्ट्रिय एकता आवश्यक रहेको बताए । यही उद्देश्यका साथ १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा गठन गरिएको उनको भनाइ थियो ।
उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी गरे । विशेषगरी जेन–जी युवाहरूले आफ्ना विचार र भावनालाई प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको बुझ्न थालेको उनले बताए ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी अधिकांश युवाहरू रहेको उल्लेख गर्दै प्रचण्डले यसले देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए । साथै उनले मुलुकको बृहत्तर हितका लागि सबैलाई सधैं प्रतिबद्ध रहन आग्रह गरे ।








