images
images

जसपा नेपाल र लोसपा नेपालको एकीकरण सम्पन्न, नयाँ राजनीतिक अध्यायको सुरुवात

काठमाडौं – नेपाली राजनीतिमा आज एक ऐतिहासिक घटनाक्रम भएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीच औपचारिक रूपमा एकीकरण सम्पन्न भएको छ।

लामो समयदेखि अपेक्षित यो एकीकरणसँगै मधेस केन्द्रित राजनीतिमा नयाँ मोड आएको विश्लेषण गरिएको छ।

एकीकरणपछि पार्टीको एकीकृत नाम ‘जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)’ कायम गरिएको छ। पार्टीको संरक्षकको जिम्मेवारी मा. महन्थ ठाकुरलाई दिइएको छ भने मा. उपेन्द्र यादव एकीकृत पार्टीको अध्यक्ष चयन हुनुभएको छ।

एकीकरणसम्बन्धी सहमतिअनुसार पार्टीको चुनाव चिन्ह ‘छाता छाप’ रहनेछ। यस्तै, पार्टीको झण्डा रातो, सेतो र हरियो रंगको रहनेछ, जुन यसअघि लोसपा नेपालले प्रयोग गर्दै आएको झण्डा हो।

पार्टी सञ्चालन र एकीकरण व्यवस्थापनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। उक्त समितिले दुवै पार्टीका संरचना, संगठन, निर्देशन तथा निर्णय प्रक्रियालाई एकीकृत रूपमा अघि बढाउने जिम्मेवारी पाउनेछ।

नेताहरूले एकीकरणलाई मधेसवादी आन्दोलन, समावेशिता, संघीयता र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। एकीकृत पार्टीले आगामी दिनमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक स्थायित्वमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो एकीकरणसँगै मधेस केन्द्रित राजनीतिमा शक्ति सन्तुलन परिवर्तन हुने र राष्ट्रिय राजनीतिमा जसपा नेपालको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।