काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन् ।
काँग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरूले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, “आन्दोलनका क्रममा काँग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”
पार्टीभित्रको सत्ता संघर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यताको संघर्ष भएको जनाउँदै महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेन जेड पुस्ताको नाममा हजारौँ नरनारी सडकमा आएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको पक्षलाई मनन गर्न आवश्यक रहेको बताए ।
उनले मुलुकमा त्यत्रो घटना भइसकेपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अनदेखा र सामान्य घटनाका रूपमा लिन नमिल्ल्ने बताए । महामन्त्री थापाले यो विशेष महानिधवेशनलाई नाम जस्तै विशेष बनाएर टुङ्ग्याउनुपर्ने बताउँदै आफूहरूले अधिवेशनको उद्घाटन पार्टी सभापतिले गरेको र कार्यवाहक उपसभापति उपस्थित भएको हेर्न चाहे पनि त्यो हुन नसकेको बताए ।
काँग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको भएको बताउँदै उनले काँग्रेसले विगतदेखि नै त्यही कार्य गर्दै आएको स्मरण गरे । महामन्त्री थापाले पार्टीका लागि निर्वाचन मात्र ठुलो कुरा नभएकाले त्यसभन्दा फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए ।
उनले भने, “नागरिकमा भरोसा जोगाउनु छ, काँग्रेसले नै २००७ सालदेखि नडगमगाइ जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास छ । अहिलेको नवयुवामा आशा जगाइराख्न युवालाई मुलुकमै बसिराख्ने तथा कामका लागि विदेशिनुपर्ने बाध्यता हटाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउँछौँ ।”
महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मन्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठुलो कोही नभएको स्पष्ट पारे।








