images
images

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगरौँः कार्यवाहक सभापति खड्का

काठमाडौँ – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा सोमबार एक अपील जारी गर्दै उनले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त गरी एकताका साथ अघि बढ्न आग्रह गरेका हुन्।

‘…सबै साथीहरू मिली देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

उनले आगामी वैशाखमा हुने पार्टीको १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व परिवर्तन गर्न सकिने उनको भनाइ छ।

उनले भनेका छन्, ‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ।’

खड्काले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर निर्वाचनमा होमिन अपील गरेका छन्।