images
images

देउवालाई गगनको आग्रहः विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा उनले विधानसम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुनः आग्रह गरेका हुन्।

उनले कार्यक्रममा सहभागिता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरुले आफूसँग सम्पर्क गरिरहेको भए पनि नेताहरुसँग डराएर आउन नसकेको बताए। महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने दाबीसमेत गरे।

उनले भने, ‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो। यो कुनै अलग कार्यक्रम होइन। पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईंहरुको सहभागिता अहिले पनि हामीले अनुरोध गरिरहेका छौँ। यो भनिरहँदा अहिले थुप्रै साथीहरुले मलाई सम्पर्क गरिराख्नु भएको छ। कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ। कोही भित्र सम्पर्क गरिराख्नु भएको छ। यहाँ मान्छे पठाएर भनिराख्नु भएको छ। आउन चाहनुभएको छ। तर जिल्लाका नेताहरुसँग डराउनुभएको छ।’

महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि कांग्रेस जागेर अघि बढ्नुपर्ने बताए।