images
images

महामन्त्रीद्वयको प्रस्तावसहित ४ विषयमा छलफल गर्न ९ समिति गठन

काठमाडौं-नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रस्ताव पेस गरेका छन्।

महाधिवेशनमा पेश प्रस्ताव र अन्य महत्वपूर्ण विषयहरूमा व्यापक छलफलका लागि ९ वटा समूह गठन गरिएको छ। विशेष महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार ती समूहले महामन्त्रीद्वयका प्रस्तावसहित समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन जस्ता चारवटा मुख्य विषयमा सुझावसहितको छलफल गर्नेछन्।

पोखरेलले भने, “हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ। अब समूहगत छलफलपछि विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढ्ने प्रक्रिया सुरु हुनेछ।”

विशेष महाधिवेशनको कार्यविधि समेत बन्दसत्रमा पेस गरिएको छ। यसबाट महाधिवेशन पक्षले नेतृत्व चयन र नीतिगत दिशानिर्देशन दुवैलाई व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउने तयारी गरेको देखिन्छ।

विश्लेषकहरूले यसलाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र विभिन्न गुटबीचको सहकार्य मूल्याङ्कन गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। समूहगत छलफलबाट आउने सुझावले आगामी महाधिवेशनको नीतिगत निर्णय र नेतृत्व चयन प्रक्रियामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।