images
images

‘आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ’ : रामप्रसाद भण्डारी

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताएका छ्न् ।

मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका लागि आजदेखि सुरु भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आचारसंहितालाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिए ।

उम्मेदवारले अरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने भण्डारीको भनाइ छ ।

आयोगका आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कडा रूपमा आचारसंहिता पालना गराउने उनले बताए । २०७९ सालभन्दा पहिले जस्तो आचारसंहिता उल्लंघन लाई छुट दिने खालको नभएको भन्दै उनले काँधमा निर्विकल्प रूपमा निर्वाचन गर्नुपर्ने दायित्व आएको बताएका छन् ।

‘निर्वाचन पर्यवेक्षकले अनेक गतिविधि गर्लान्, त्यसको अनदेखा गर्ने छुट पनि हामीलाई छैन, विगतमा पर्यवेक्षण गर्नेले उम्मेदवारका पक्षमा गतिविधि गर्न थालेपछि कारबाही गरेर पर्यवेक्षण अनुमति खारेज गरी देश निकाला गरिएको थियो, यसैले पर्यवेक्षकको पनि अनुगमन गर्नुहोला, निर्वाचन कानुन र आचारसंहिता विपरीतका काम गरे कारबाही गर्नुहोला, त्यसको जानकारी आयोगमा पनि पठाउनुहोला’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।

कानुनको व्याख्या गलत ढंगले गर्ने, निर्वाचनको प्रक्रिया गलत गर्ने र कानुन उल्लंघन गर्नेलाई छुट दिन नहुने उनले प्रस्ट पारे ।