images
images

कांग्रेसमा सहमतिको प्रयास कमजोर,विवाद मिलाउन लाजिम्पाटमा छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास भए पनि अहिलेसम्म त्यसको सम्भावना क्षय हुँदै गएको छ महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले आह्वान गरेको विशेष महाधिवेशन भृकुटी मण्डपमा चलिरहँदा पार्टीलाई फुटबाट जोगाउन भन्दै सहमतिको प्रयास भइरहेको छ।

पार्टीमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच एउटै धारणा अगाडि बढ्ने कोशिस अस्तिदेखि नै भएपनि मंगलबार बिहानसम्मको छलफलका आधारमा सहमतिको आधार कमजोर हुँदै गएको नेताहरूले बताएका छन्।

सोमबार थापा र शर्माले पेश गरेको प्रतिवेदन माथि छलफल गर्न ९ वटा समूह बनाइएको थियो। समूहको छलफल चलिरहँदा दुवै तर्फका नेताहरू भने सहमतिको प्रयासका लागि जुटेका थिए।

सभापति शेरबहादुर देउवाले महाराजगंजस्थित आफ्नो निवासमा पार्टीका विभिन्न तह र पक्षका नेताहरुलाई बोलाएर दिनभर रातभर जसो छलफल गरेका छन्।

तर मंगलबार बिहानसम्म सहमति हुने सम्भावना कम देखिएको विशेष महाधिवेशन पक्षधरबाट छलफलमा बसेका एक नेताले जानकारी दिए। यदि मंगलबार दिउँसोसम्म दुवै पक्षबीच साझा धारणा बन्न नसकेमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरुले सहमतिका लागि अधिकतम लचक हुने तर सहमति नभएमा नीति र नेतृत्व चयन गरेर अगाडि बढ्ने बताएका छन्।

विशेष महाधिवेशन उद्घाटन सत्रमा महामन्त्री थापाले भेला नयाँ नेतृत्व र नीति चयन गर्न सक्षम रहेको भन्दै चेतावनी दिएका थिए।

उनीहरुले मंगलबार नेतृत्व चयनको कार्यविधि समेत महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेका छन्।

नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि नेताहरूबीच आज बिहानैदेखि सघन छलफल सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष, डा. शेखर कोइराला पक्ष र महामन्त्रीद्वय गगन–विश्वप्रकाश पक्षका प्रभावशाली नेताहरूबीच लाजिम्पाटमा बिहान साढे ८ बजेदेखि छलफल जारी रहेको हो।

पार्टीभित्रको आन्तरिक समीकरण र कार्यविभाजनमा देखिएका मतभेद अन्त्य गरी साझा धारणा बनाउन यो बैठक आह्वान गरिएको बुझिएको छ।

छलफलमा सभापति देउवाको पक्षबाट केन्द्रीय सदस्यहरू रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने डा. शेखर कोइराला पक्षको प्रतिनिधित्व सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले गरिरहेका छन्।

त्यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल र मधु आचार्य छलफलमा जुटेका छन्।

बैठकमा विशेष महाधिवेशनका अभियन्ताहरू गुरुराज घिमिरे र देवराज चालिसेको पनि उपस्थिति रहेको छ।